रोल्पा – रोल्पामा खोलाले बगाउँदा एक जना व्यक्तिको मृत्यु भएको छ ।

मङलबार भएको अत्याधिक बर्षाको कारण रोल्पाको गंगादेव गाउँपालिकामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गंगादेव गाउँपालिका वडा नं. ५ बथानका ५१ बर्षिय फौंद बहादुर बुढा रहेका छन । बिहान करिव ११ बजे आएको खोलाले मृतक बुढालाई करिव ३ किलोमिटर तल बगाएर लिएको थियो ।
साविक पाखापानी गाविसको म्वालेखोला हुँदै बगेर उर्लिदै आएको ढुंग्रीले बाहुन घट्ट भन्ने ठाऊँबाट खोलो तर्ने क्रममा बगाएको अनुमान गरिएको छ । मृतक बुढाको टाउको फुट्नुका साथै खुट्टाहरु समेत भाँचिएको छ भने शरीरका कपडाहरु पनि च्यातिएर अर्धनग्न अवस्थामा भेटिएका थिए ।

फुलबारी गाउँका महिलाहरुले खोलामा एक्कासि शव देखेपछी लोदचौर बजारमा खबर पुर्‍याएका थिए । बजारका मान्छेहरु खोलामा पुगेर शव हेर्दा बथानका फौद बहादुर बुढा मृत अबस्थामा भेटिएको सिम्खोला प्रहरी चौकीका प्रहरी निरक्षक तथा सुचना अधिकारी प्रकाश भुषालले जानकारी दिए ।