काठमाडौँ । सरकारले ‘हेलो सरकार’ लाई चौबिसै घण्टा सञ्चालन गर्ने तयारी गरेको छ । सार्वजनिक सेवालाई प्रभावकारी बनाउन चौबिसै घण्टा ‘हेलो सरकार’ सञ्चालन गर्ने तयारी गरेको हो ।
यो सेवा हाल बिहान ७ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुँदै आएकोमा अब चौबिसै घण्टा गुनासो सुन्ने व्यवस्था गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । “हेलो सरकारलाई विगतका सरकारले प्राथमिकतमा राखेनन् । प्रधानमन्त्री कार्यालयभन्दा बाहिर अस्थायी संरचनामा कर्मचारी थन्क्याउने निकाय जस्तै थियो,” आचार्यले भने, “प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हेलो सरकारलाई सोधखोज गरेर प्रभावकारी बनाउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमै राखेर २४ घण्टा नै सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ ।”
२०६८ सालमा तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा हेलो सरकार कार्यान्वयन भएको थियो । त्यसपछि बनेका सरकारले खासै प्राथमिकता दिएनन् ।











