काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिदै गरेको एक सय किलो सुन तस्करीमा संलग्न भएको आरोपमा अहिलेसम्म १० जना पक्राउ परेका छन् । एक–एक जना भारतीय र चिनियाँ नागरिकसहित १० जना पक्राउ परेका हुन् । राजस्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा कार्गो र कुरियर सेवा दिने कम्पनीका सञ्चालक पनि छन्।

विभागका महानिर्देशक नवराज ढुङ्गानाले जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरुलाई पक्राउ गरिएको बताए । पक्राउ परेका कार्गो तथा कुरियर सेवा दिने कम्पनीका तीन जना सञ्चालकहरूको नाम भने विभागले सार्वजनिक गरेको छैन ।

अवैध सुन प्रकरणमा पक्राउ परेका १० जनामध्ये छ जनालाई उच्च अदालत पाटनबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको छ । चिनियाँ नागरिकसहित चार जनालाई भने आज म्याद थप गरिने विभागले जनाएको छ । यो प्रकरणमा चिनियाँ र भारतीय नागरिक पक्राउ परेसँगै चीनदेखि भारतसम्मको गिरोह सक्रिय रहेको खुलेको छ । नेपाली गिरोह पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।