सप्तरी, । सप्तरीमा घुस लिने इन्जिनियर पर्खाल नाघेर भागेपछि अख्तियारको टोली रित्तो हात फर्केको छ । त्यहाँ स्थित सामाजिक विकास इकाई कार्यालयमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मार्यो ।

विद्यालयको भवन निर्माणको सम्पन्नका काममा घुस लिएको सूचना पछि अख्तियारको टोली त्यस कार्यालयमा पुगेको थियो ।

अख्तियारको टोली त्यहाँ पुगेपछि खुस लिने इन्जिनियरसहित कर्मचारीहरू नगद र चेक छाडेर पर्खाल नाघेर भागेका छन् । घुस लिएको इकाईका कर्मचारी सब–इन्जिनियर अजय कुमार साफीले पर्खाल नाघी भागेका हुन् । भाग्ने क्रममा घुस लिएको रकम र चेक फालेको आयोगले जनाएको छ ।

सिराहाको नवराजपुर गाउँपालिका –१ स्थित जनता आधारभूत विद्यालयको भवन निर्माण सम्पन्न भए पनि भुक्तानी लिने क्रममा नौ लाखको काममा १० प्रतिशत घुस मागेका थिए । घुस बापत ५५ हजारको चेक तथा १५ हजार नगद रकम दिएको उपभोक्ता समितिका एक सदस्यले बताएका छन् ।