काठमाडौं । सर्वोच्च अदातलले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका नेपाल सरकारका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले थुनामै राखेर अनुसन्धान गर्नुपर्ने आधार, कारण र औचित्य नदेखिएको जनाएको छ । अदालतले राउतलाई विदेश जान भने रोक लगाएको छ ।

२०६६/०६७ सालमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको निवास विस्तार गर्ने नाममा भूमाफियाको योजनाअनुसार अगाडि बढेको सट्टाभर्नासम्बन्धी निर्णयमा राउत शाखा अधिकृत हुँदा टिप्पणी उठाएका थिए । सोही टिप्पणी सहसचिव, सचिव, मन्त्री हुँदै तहगत रूपमा सदर गरेर मन्त्रिपरिषदमा पुर्‍याइएको थियो ।

यस्तै ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित चार जनाले दिएको रिट भने सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।