घोराही । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ निवासी रेग्मी परिवारले ऋषिराम रेग्मीको स्मृतिमा पाँच लाख रुपैयाको अक्षयकोष घोषणा गरेको छ । स्व. रेग्मीको स्मृतिमा प्रकाशित स्मृतिग्रन्थ लोकार्पणका अवसरमा रेग्मी परिवारले पुरस्कारका लागि अक्षयकोषको घोषणा गरेको हो ।

रेग्मीका जेष्ठ सुपुत्र बामदेव रेग्मी र कनिष्ठ सुपुत्र सन्तोष रेग्मी लगायत परिवारका सदस्यहरुले स्थापना गरेको पुरस्कार दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानमा स्थापना गरिएको छ । हरेक बर्ष रेग्मीको निधन भएको असार २९ गतेका दिन वितरण गर्ने गरेर साहित्यकारलाई पुरस्कार दिइनेछ । पुरस्कार वितरणका लागि कार्यविधी बनाइने प्रतिष्ठानले जनाएको छ । दाङ जिल्लामा स्थापना भएका मध्य यो सवैभन्दा ठूलो राशीको अक्षयकोषका रुपमा रहेको छ ।

श्ुाक्रबार घोराही १० फन भ्यालीमा आयोजना गरिएको कार्यक्रममा ऋषिराम रेग्मीको स्मृतिग्रन्थ र रेग्मीले रचना गरेका कविता र गीतको संग्रह विमोचन गरिएको थियो । दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष डिल्लीराज शर्मा श्रीधरको अध्यक्षतामा भएको कार्यक्रममा रेग्मीले साहित्य, संस्कृति र समाजसेवाको क्षेत्रमा गरेको योगदानको चर्चा गरिएको थियो ।

सो अवसरमा लोकार्पण गरिएको स्मृतिग्रन्थको चर्चा डा. हिमलाल पन्थीले गर्नुभएको थियो । कार्यक्रममा डा. शिवकुमार आचार्य, प्रा. लेखनाथ आचार्य, रेग्मीका बालसखा धर्मबहादुर बैरागी, साहित्यकारहरु नवराज रजौरे, पुरुषोत्तम खनाल, पद्मप्रसाद शर्मा, जानका रेग्मी, कमलमणि देवकोटा, खगराज न्यौपाने, खुमानन्द अधिकारी, उत्तमकृष्ण मजगैया, लगायतले बोलेका थिए ।

१९९९ साल कात्तिकको लक्ष्मीपुजाका दिन जन्मनुभएका ऋषिराम रेग्मीको निधन २०७७ साल असारको २९ गते भानु जयन्तीका दिन भएको थियो । स्नातकोत्तर सम्मको अध्ययन गर्नुभएका रेग्मी नेपाल संस्कृत विश्व विद्यालयमा लामो समय काम गर्नुभएको थियो । नेपाली र संस्कृत साहित्यमा राम्रो दख्खल राख्ने रेग्मी दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष समेत थिए ।