काठमाडौं । काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई सामुदायिक विद्यालयसरहकै तलबको व्यवस्था गर्न निर्देशन दिएका छन्।

सामाजिक सञ्जालमार्फत प्रमुख साहले सरकारले तोकेअनुसारको तलब सुविधा प्राप्त नभए महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न निजी विद्यालयका शिक्षकलाई अनुरोधसमेत गरेका छन् ।

महानगरका संस्थागत विद्यालयका शिक्षकबाट तलबका विषयमा गुनासो आउने गरेको समेत उनले बताएका छन् । शिक्षा ऐन, २०२८ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख छ।