विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने भएका छन् । विहीबार प्रदेशसभामा मुख्यमन्त्री कार्कीले प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्ताव निर्णयार्थ प्रस्तुत नगरी शुक्रबार प्रस्तुत गर्ने गरी बैठक स्थगित गरिएको थियो ।

बिहीबारको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव गरी छलफलसमेत सकिसकेको अवस्थामा मुख्यमन्त्री नै प्रदेश सभाबाट बाहिरिएपछि बिहीबार मुख्यमन्त्रीको प्रस्ताव निर्णयार्थ प्रस्तुत नहुने अवस्था उत्पन्न भएको हो । प्रदेश सभा सचिवालयले प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिने प्रस्तावसँगै निर्णयार्थ प्रस्तुत हुने कार्यसूची प्रकाशन गरेको थियो तर बैठकमा उक्त प्रस्ताव निर्णयार्थ पेस भएन । छलफलमा उठेका प्रश्नको जवाफ दिने र तथ्याङ्क तयारी गर्न भन्दै मुख्यमन्त्री साँझ ६ बजे प्रदेश सभाबाट बाहिरिएका थिए ।