घोराही । २०७९ असोज २९ गते घोराही उपमहानगरपालिका–१३ वडहराबाट घोराही–१५ का २० वर्षीय सरोज महरा क्षेत्री लागूऔषध (खैरो हिरोइन) ५ ग्राम ४३० मिलिग्राम सहित पक्राउ परे ।
०७८ असार ३१ गते लमही नगरपालिका–९ मा राजु दर्जी र राज योगीको साथबाट एक सय १० ग्राम लागूऔषध ब्राउन सुगर फेला प¥यो । त्यसको एक सातापछि साउन ६ गते गढवा–१ धानखोलामा सुदीप सिंह सिजाली मगर र रेमबहादुर भुजेलको साथबाट लागूऔषध चरेस एक किलो नौ सय ३० ग्राम फेला प¥यो । यस्ता लागूऔषधसहित पक्राउ पर्ने क्रम दाङमा बढ्दो अवस्थामा छ । जिल्लामा पछिल्ला बर्षको लागूऔषधसहित पक्राउ परेकाको विवरण हेर्दा बरामद लागूऔषध घट्दै गएको छ भने पक्राउ पर्ने बढ्दै गएका छन् ।
शंका लागेका व्यक्तिमा खानतलासी गर्दा होस् वा सुराकीको आधारमा प्रहरीले समातेकाको रेकर्ड मात्रै हेर्दा आर्थिक वर्ष २०७६/०७७ मा ७३ जनालाई आगूऔषध अपराधमा मुद्दा चलाइएको छ । त्यो संख्या आर्थिक वर्ष २०७७/०७८ मा बढेर ७६ पुगेको छ । आर्थिक वर्ष २०७८/०७९ मा झन बढेर आगूऔषध अपराधमा मुद्दा खेप्ने एक सय १६ जना पुगेका छन् भने चालु आर्थिक वर्षको असार ११ गतेसम्म एक सय १३ जनालाई आगूऔषध अपराधमा मुद्दा चलाइएको छ ।
कारोबारको नयाँ रुप
पक्राउ परेकाको रेकर्ड हेर्दा लागूऔषध प्रयोगकर्ता बढ्दै जाँदा बरामद लागूऔषधको मात्रा भने घट्दै गएको छ । जिल्लामा पक्राउ परेकाको रेकर्ड हेर्दा सेवनकर्ता वर्षेनि बढेको देखिन्छ भने बरामद भएको ब्राउन सुगर, अफिमजस्ता लागूऔषध घटेको छ । आर्थिक वर्ष २०७७/०७८ मा ४६ जनाबाट चार सय ६३ ग्राम छ सय २० मिलीग्राम बरामद भएको ब्राउन सुगर २०७८/०७९ मा ९३ जनाबाट तीन सय ९१ ग्राम चार सय १८ मिलीग्राम मात्रै बरामद भएको छ । चालु आर्थिक वर्षको हालसम्म ९४ जनाबाट दुई सय ३४ ग्राम छ सय ७२ मिलिग्राम मात्रै ब्राउन सुगर बरामद भएको छ । दाङमा चरेस २०७७/०७८ मा छ जनाबाट १५ किलो, २०७८/०७९ मा चारजनाबाट १७ किलो ५१ ग्राम, चालु आर्थिक वर्षको हालसम्म पाँचजनाबाट १० किलो दुई सय ग्राम बरामद भएको छ । अफिम २०७७/०७८ मा १४ जनाबाट २१ केजी सात सय १७ ग्राम, २०७८/०७९ मा चारजनाबाट आठ ग्राम सात सय ६० मिलिग्राम अफिम बरामद भएको छ । त्यस्तै गाँजा २०७७/०७८ मा पाँच जनाबाट दुई केजी सात सय ७२ ग्राम, २०७८/०७९ मा छ जनाबाट सात किलो तीन सय ८५ ग्राम र चालु आर्थिक वर्षको हालसम्म पाँचजनाबाट १३ किलो तीन सय ७५ ग्राम बरामद भएको छ । नयाँ युगबोधबाट











