काठमाडौँ । कुल ७५३ स्थानीय तहमध्ये ४२ वटा स्थानीय तहले तोकिएको मितिभित्र सभामा बजेट पेस गर्न सेकको छैनन् ।
स्थानीय तहले हरेक वर्षको असार १० गतेभित्र आफ्नो सभामा आगामी वर्षको नीति र कार्यक्रम तथा बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि ४२ वटा स्थानीय तहले सो समयमा नीति र कार्यक्रम तथा बजेट पेस गर्न सकेनन् ।
नेपाल नगरपालिका सङ्घका अनुसार तीमध्ये १३ वटा नगरपालिकाले असार १० गतेभित्रै बजेट पेस गर्न सकेनन् । त्यस्तै २९ वटा गाउँपालिकाले गाउँ सभामा आगामी आर्थिक वर्ष २०८०र८१ का लागि बजेट पेस गर्न नसकेको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले जनाएको छ । छ वटा महानगरपालिका रहेकामा तिनले भने तोकिएको मितिभित्रै बजेट ल्याएका छन् ।
गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले स्थानीय तहका विभिन्न कठिनाइले गर्दा कानुनले तोकिएको समयसीमाभित्रै बजेट सभामा पेस गर्न नसकेको बताए ।
स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले सबै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि असार १० गतेभित्र आआफ्नो सभामा नीति, कार्यक्रम र बजेट पेस गरी असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
