काठमाडौँ । जलहरीबारे संसद्मा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरीको नापतौल र गुणस्तर परीक्षण गरेको छ ।
जसबाट जलहरीको तौल १०७ किलो ८०७ ग्राम देखिएको छ। आयोगले सोमबार यसबारे परीक्षण गर्दा सुनको गुणस्तर २२ क्यारेट भएको पनि पाइएको छ। अख्तियारले सोमबार जलहरीको परीक्षण सकेको छ। यद्यपि अन्तिम प्रतिवेदन बनिसकेको छैन।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, सुनचाँदी महासङ्घको विज्ञ टोली, खानी तथा भू–गर्भ विभागका प्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको निगरानीमा जलहरी नापतौल र परीक्षणपछि रुद्रगारेश्वरमा राखिएको छ।
जलहरी राखिएको स्थानमा नेपाली सेनाले पहिलो घेरामा सुरक्षा प्रदान गरिरहेको छ। दोस्रो घेरामा सशस्त्र प्रहरी बलको टोली छ। नेपाल प्रहरी र पशुपति क्षेत्र विकास कोषबाट परिचालित निजी सुरक्षागार्डले पनि सुरक्षा प्रदान गरिरहेका छन्। उक्त स्थानलाई सिसिटिभीबाट निगरानी गरिएको छ।
