दैलेख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पुर्ख्यौली थलो दहगाउँ आएर प्रतिमा अनावरण गर्न पाउँदा निकै खुसी लागेको बताएका छन् । दैलेखको दुल्लु नगरपालिका –१२ दह गाउँमा कुल शिरोमणि दासु स्मृति तथा अनुसन्धान प्रतिष्ठान केन्द्रीय कार्यालय काठमाडौँले आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
वत्स गोत्रीय दाहाल, लम्साल, रुपाखेती, कुँवर, राणा परिवारका आदिपुरुष कुल शिरोमणि दासुको सालिक (प्रतिमा) अनावरण गर्न प्रधानमन्त्री प्रचण्ड पुर्ख्यौली गाउँ दह आज आइपुगेका हुन् गोरखापत्रमा खबर छ। आफ्नो बुबाले आफ्नो पुर्ख्यौली थलो पश्चिम रहेको बताए पनि जुम्लाको दह वा दैलेखको दह कहाँ हो भन्ने अन्योल भएका बेला दह गाउँमा आफूहरूको पुर्ख्यौली थलो भएको पुष्टि भएपछि खुसी लागेको प्रधानमन्त्री प्रचण्डले बताए । “दह गाउँको मात्र विकास नभएर समग्र दैलेखको र पञ्चकोशी क्षेत्रको विकासका लागि सहयोग गर्नेछु”, उनले भने ।
प्रधानमन्त्री प्रचण्डले नेपालमा रहेको प्राकृतिक सम्पदा र पर्यटन विकासले मात्रै देशमा समृद्धि ल्याउने बताउँदै त्यसआधारमा भारत सरकारसँग विद्युत खरिद सम्झौता गरिएको जानकारी दिए । उनले देशले आर्थिक सङ्कट भोगिरहेका बेला आफू प्रधानमन्त्री भएको बताउँदै देशको आर्थिक अवस्था बिस्तारै सुधार हुँदै गएको बताए ।
