काठमाडौं । बंगालको खाडी हुँदै दक्षिण–पूर्वबाट नेपालमा बुधबार मनसुन भित्रिएको छ । औसतभन्दा एक दिन ढिलो प्रवेश गरेको जलवाष्पयुक्त हावा बोकेको न्यूनचापीय प्रणालीको असर पूर्वी नेपालदेखि तराईमा मधेसको मध्य क्षेत्रसम्म र पहाडी क्षेत्रमा गण्डकीको पोखरासम्म देखिएको छ ।

नेपालमा सरदर १३ जुनमा मनसुन भित्रिने गरेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली भएको छ। बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको छ।

बिहीबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू(भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको बर्खामा बाढीपहिरोसहितका विपत्बाट दुई लाख १६ हजार घरपरिवारका साढे १२ लाख नागरिक प्रभावित हुने आकलन गरेको छ ।