काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनका शक्तिहरु एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफ्नो पार्टी अहिले सत्ता गठबन्धनमा सहभागी भएको र गठबन्धनका घटकहरुका बीचका धाराहरुमा केही मतान्तर हुनु स्वभाविक रहेको बताए।
उनले अहिले सत्ताधारी र विपक्षी गठबन्धन रहेको बताए। सत्ता बाहिरको गठबन्धनमा संविधानमाथि गम्भीर आघात पुर्याउने शक्तिहरु र संघीयतामाथि विश्वास नगर्ने मात्र नभइ संघीयता नै समाप्त पार्ने शक्तिहरु रहेको उनले दाबी गरे।
उनले अहिलेको गठबन्धन लोकतान्त्रिक र प्रगतिशील गठबन्धन भएको दाबी गरे। उनले कमजोरीको आलोचना गर्न कमजोरीप्रति लतारिने स्वभाव आफूहरुको नरहेको उल्लेख गरे।
अध्यक्ष नेपालले सबै समाजवादी र वामपन्थी शक्तिहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए। आफ्नो महत्त्व र भूमिकालाई अस्स्वीकार गर्नेहरुको चुनौतीको सामना गर्ने बताए।
