काठमाडौं- एनसेलले आफ्नो सेयर बिक्री गर्दा लाभकर छली गरेको भनी नेपाल सरकारले निर्धारण गरेको कर विरुद्ध अन्तर्राष्ट्रिय मध्यस्थतामा दायर गरेको मुद्दामा हार बेहोरेको छ। शुक्रबार भएको फैसलामा नेपालले करिब ६६ अर्ब अमेरिकी डलर तिर्नुपर्ने भनी दायर मुद्दामा नेपालले जितेको कानुन मन्त्रालयका सचिव धनराज ज्ञवालीले बताए।

एनसेलको ८० प्रतिशत सेयर बिक्रीको पुँजीगत लाभकर एनसेलको स्वामित्व रहेको कम्पनी आजियाटाले तिर्न अस्वीकार गरेपछि विवाद सुरु भएको थियो। यो विवादमा सर्वोच्च अदालतले दुई वटा फैसला सुनाएको थियो। पहिलो पटक सुनाएको फैसलामा धेरै कर निर्धारण भएको थियो भने दोस्रो पटक केही घटेको थियो।

सर्वोच्चमा मुद्दा हारेपछि एनसेलले लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईसी) मा निवेदन दिएको थियो। सुरुमा नेपालले यो विषयमा बेवास्ता गरेर बसेको थियो। तर कानुन मन्त्रालयले पछि जवाफ लेख्दै उक्त प्रकरणमा नेपालको कानुन र प्रक्रियाभित्र रहेर करको दाबी सहितको लिखित जवाफ पेस गरेको थियो। सरकारको उक्त जवाफ बुझाएको ७ वर्षपछि अन्तिम निर्णय भएको हो। योसँगै सेयर खरिद-बिक्रीमा लाभकर लाग्ने नेपालको दाबी प्रमाणित भएको छ।

‘एनसेलको विवादमा नेपालको पक्षमा फैसला भएको छ। हामी उक्त फैसलाको अध्ययनमा छौं,’ कानुन मन्त्रालयका सचिव ज्ञवालीले भने। ‘करिब ६ सय पेजको फैसला अध्ययनपछि प्रधानमन्त्री र अर्थमन्त्रीलाई ब्रिफिङ गरिनेछ। नेपालको समयअनुसार शुक्रबार अबेरमात्रै फैसला आएकोले आइतबारदेखि अध्ययन थालिएको र केही दिनमा सम्बन्धित कार्यालयहरुलाई फैसलाबारे जानकारी गराउने उनले बताए।