काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयले कार्यालयभित्र र कार्यालय समयमा टिकटक नबनाउन निर्देशन दिएका छन् । सर्वसाधारणको गुनासो सुन्न सरकारले खडा गरेको संयन्त्र ‘हेलो सरकार’मा परेका उजुरीका आधारमा हाल विभिन्न मन्त्रालयले मातहतका कर्मचारीका लागि टिकटक प्रयोगसम्बन्धी निर्देशन नै जारी गरेका छन् ।

गृह मन्त्रालयले गत १९ जेठमा सातबुँदे निर्देशन दिएको छ । ‘गृह मन्त्रालयमातहत कार्यरत केही वरिष्ठ अधिकारीले अनुपयुक्त, अव्यावसायिक गतिवधि तथा पदको गम्भीरता र महत्वलाई ध्यान नदिई टिकटकमा अनावश्यक र उच्छृंखल किसिमका भिडियोहरू पोस्ट गर्ने गरेको भन्ने व्यहोराको गुनासो प्राप्त भएको’ले यस्तो निर्देशन जारी गरिएको गृहले जनाएको छ ।

निर्देशनको पहिलो बुँदामा ‘कार्यालय समयमा, कार्यालय परिसरभित्र र कर्मचारी पोसाकमा टिकटकजस्ता भिडियो खिचेर सामाजिक सञ्जालमा नराख्ने’ उल्लेख छ । त्यस्तै, सरकारी सवारीसाधनको प्रयोग गरेर, कार्यालयसँग सम्बन्धित संवेदनशील कामकारबाहीको जानकारी दिन नहुने निर्देशनमा उल्लेख छ । कार्यालयको कामकारबाहीको विवरण जानकारी गराउँदा व्यक्तिगत प्रचार–प्रसार र जस लिने आशयले पनि गर्न नपाइने निर्देशन छ ।

‘आफ्नो नियमित कर्तव्यभित्र पर्ने सरकारी कामकाज गरेको विषयलाई अनावश्यक तन्काएर विज्ञापन गरेजस्तो देखिने गरी व्यक्तिगत सञ्जालमा समेत नराख्ने,’ पाँचौँ नम्बर बुँदामा भनिएको छ । पदीय जिमेवारीलाई नकारात्मक प्रभाव पार्ने खालका विषयवस्तु सामाजिक सञ्जालमा राख्न नपाइने गृहको निर्देशनमा छ । निर्देशन पालना गरे–नगरेको विषयमा मन्त्रालयले जनाएको छ ।

सुरक्षा निकायहरूले पहिलेदेखि नै पोसाक लगाएर खिचिएको फोटो र भिडियो राख्न नपाउने नियम लागू गरेका छन् । युनिफर्म लगाएर तथा कार्यालयमा फोटो–भिडियो खिचेर पोस्ट गर्ने सुरक्षाकर्मी त कारबाहीमा समेत पर्दै आएका छन् ।