दैलेख । राउटे समुदायका ज्येष्ठ सदस्य ९४ वर्षीय कर्णबहादुर शाहीको निधन भएको छ । दैलेखको भैरबी गाउँपालिका–१ दारेघाटमा उनको निधन भएको हो ।
सोसेक नेपालको राउटे परियोजनाका सहजकर्ता लालबहादुर खत्रीका अनुसार लोपोन्मुख जाति राउटे समुदायले शाहीको बिहान दाहसंस्कार गरिएको छ ।
राउटेको संस्कार अनुसार शाहीको शवलाई चिहानमा गाडिएको छ। राउटे समुदायमा बाँदर मार्ने जालमा शव गुथेर चिहानमा गाड्दा हरेक घरबाट धान, चामल अनि नयाँ कपडा चढाउने चलन छ । राउटेको निधन मुल किरिया बस्न नपर्ने र निधन भएको ११–१३ दिनको बीचमा मंगलबार वा शनिबार पारेर सबैले कपडा धुने अनि मृतकको नाममा कुखुरा काट्ने चलन छ ।
यस्तै, राउटे समुदायका कोही सदस्यको निधन पछि बसिरहेको बस्ती एक हप्ता भित्र छोड्ने र नयाँ ठाउँमा सबैले कपडा धुने अनि मृतकको नाम कुखुरा काटेर मासु खाइ शुद्ध हुने चलन छ । राउटे समुदायमा अब १४१ जना मात्र छन् ।
