सल्यान । स्थानीय स्तरमै न्यायीक अधिकार पुर्याउन तथा कम झमेला, कम खर्च र कम समयमा न्याय प्रदान गर्ने भन्दै सल्यानको कालिमाटी गाउँपालिकाले न्यायीक समितिको प्रभावकारीता बढाउनमा जोड दिएको छ । यसका लागि गाउँपालिकाले आफ्नो पालिकाका सबै वडामा न्यायीक संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
न्यायमा नागरिकको पहुँच बढाउन र विभिन्न कानुनी ज्ञान प्रदान गर्नका लागि अधिवक्ता मार्फत अभिमुखिकरण तथा न्यायीक समिति, अन्य जनप्रतिनीधी र स्थानीय नागरिकका विच वडा स्तरमा प्रत्यक्ष संवाद एवम् अन्तरक्रिया सम्पन्न भएको गाउँपालिकाको न्यायीक शाखामा कार्यरत दर्ता अधिकारी विजयकुमार वलीले जानकारी दिए । गत जेठ १० गते देखी सुरु भएको न्यायीक संवाद कार्यक्रम सातवटै वडामा सम्पन्न भएको उनले जानकारी दिए ।
विवादको सहज र सरल समाधानका लागि न्यायीक समितिको महत्व रहेको भन्दै कालिमाटी गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले विवादको सहज र सरल समाधान स्थानीय स्तरमै हुने बताए । न्यायीक निरुपण छिटो, छरितो, विश्वस्नीय र प्रभावकारी बनाउनका लागि हाल सम्म प्राप्त अनुभव तथा सुझावका आधारमा सुधार गर्दै लैजानुपर्नेमा उनको जोड रहेको छ ।
न्यायीक संवाद कार्यक्रममा अधिवक्ता इन्द्र बहादुर भण्डारीले न्यायीक समितिको अधिकार क्षेत्र र त्यसको प्रयोग, न्याय सम्पादनमा अपनाउनुपर्ने कार्यविधिका बारेमा जानकारी गराएका थिए । यस्तै मेलमिलाप सम्बन्धी अधिकार क्षेत्र, न्यायीक समिति सम्बन्धी कानुनी व्यवस्थाको बारेमा अधिमुखिकरण संगै विभिन्न कानुनी विषयमा सभागिले उठाएका जिज्ञासा मेटाएका थिए ।
न्यायीक समितिका सदस्य तथा कालिमाटी २ का वडा अध्यक्ष इन्द्र बहादुर वलीले निर्वाचित प्रतिनिधीको प्रयास र रोहबरमा हुने मध्यस्थता र मेलमिलापको माध्यमबाट समाज र परिवारमा आपसी समझदारीमा विवाद निरुपण हुँदा सामाजिक एवम् पारिवारिक सम्बन्ध सुदृढ हुने बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले न्यायीक समितिले न्याय सम्पादन गर्दा डरत्रास, लोभलालच वा कसैको पनि प्रभावमा नपरी आफ्नो अधिकार प्रयोग गर्नुपर्ने बताउँछन् ।
न्यायीक संवाद अन्तर्गत आआफ्नो वडामा भएको कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष रविलाल बस्नेत, ३ का वडा अध्यक्ष शिव बहादुर खत्री, ४ का वडाध्यक्ष वेल बहादुर चन्द, ५ का वडाध्यक्ष टोप बहादुर कार्की, ६ का वडाध्यक्ष टेकराज पुलामी र ७ का वडाध्यक्ष मित्रलाल रिजाल लगाएले बोल्दै न्यायको पहुँचबाट टाढा रहेका नागरिकहरुलाई पहँुच पुर्याउन आफुहरुले सकारात्मक भुमिका खेल्ने बताएका थिए ।
न्यायविना शान्ती र विकासको कल्पना गर्न नसकिने जनाउँदै गाउँपालिकाका प्रशासन तथा योजना शाखा प्रमुख यज्ञ बहादुर खत्रीले स्थानीय तहमा कार्यपालिका र विधायकी अधिकारका अतिरिक्त न्यायीक अधिकार पनि रहेकाले यसबाट संघीयताको अध्यास गर्ने अवसर प्राप्त भएको बताए ।
