रुकुम । मुसीकोट नगरपालिका–१० मा २०७३ सालमा निर्माण सुरु गरिएको सारापोले नमुना बस्ती सिँचाइ आयोजना सात वर्षपछि पूर्णता पाएको छ ।

लामो समयदेखि अलपत्र अवस्थामा रहेको सिँचाइ आयोजनाको निर्माण सम्पन्न भएको हो । वडाध्यक्ष धनबहादुर खड्काका अनुसार २०७३ सालमा साबिक जिल्ला सिँचाइ कार्यालयमार्फत सुरु गरिएको उक्त आयोजना बजेट अभावका कारण अलपत्र थियो। वडा कार्यालयले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयसँग समन्वय गरेर बजेट प्राप्त गरेपछि अलपत्र आयोजना सम्पन्न गरिएको हो ।

खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख तेजनारायण महतोका अनुसार पानीको ट्याङ्की बन्दाबन्दैको अवस्थामा रहेको उक्त आयोजनामा ३० लाख रुपियाँ लगानी भएको छ। सिँचाइ आयोजना निर्माणसँगै वडाका सुनार टोल, साउनेपानी र मानपुर बस्तीका ५६ घर प्रत्यक्ष लाभान्वित भएका छन् ।