कलैया । दुई करोड रकम ठगी गरेको आरोपमा जिल्ला हुलाक कार्यालय बाराका निमित्त प्रमुख बलिरामप्रसाद कुर्मी पक्राउ परेका छन्।

हुलाक बचत बैंक कलैयामा विभिन्न व्यक्तिका खाता रहेको करिब दुई करोड रकम ठगी गरेको उजुरीका आधारमा कुर्मीलाई पक्राउ गरिएको हो ।

बारा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयका अनुसार पर्सा, बहुदारमाई गाउँपालिका–२ बस्ने कुर्मीले देवताल गाउँपालिका–४ टोल पिप्राढी निवासी ५५ वर्षीय प्रदीपकुमार चौधरीको खाताबाट ३५ लाख ५० हजार पाँच सय २६ र उनकी पत्नीको खाताबाट २१ लख ५३ हजार आठ सय ८५ गरी ५७ लाख चार हजार चार सय ११ हिनामिना गरेको कुर्मीमाथि आरोप लागेको छ ।

कुर्मीले उनीहरुसहित १३ जना बचतकर्ताको एक करोड ९५ लाख ३४ हजार नौ सय ६६ आफ्नो खातामा ट्रान्सफर गरी हुलाकको खाता शून्य बनाइ सो रकम हिनामिना गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा किटानी परेको छ । उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।