उदय बीसी
दाङ । जेठ महिनाको आधा–आधी भएको छ । आकाशमा कहिले काहीँ कालो वादल मडारिन्छ । आकाशमा कालो वादल देख्न हाँसिपुरका स्थानीयहरूको मन चिसो भएर आउँछ । कालो वादल मडारिदा स्थानीयलाई वाढी पहिरो आउला र क्षति गर्ला भन्दा पनि चिन्ता पानीले गाउँ जोड्ने सडक विगार्ला र सहरसम्म जान असहज होला भन्ने चिन्ता हुन्छ । केही समय मात्रै भएको छ हाँसिपुर र वंगलाचुली गाउँपालिकाका विकट पहाडी वस्तीहरू सडक सञ्जालले सहरसँग जोडिएको । गाउँ सडक सञ्जालले जोडिएपछि केही सहजता भएपनि बाह्रै महिना सञ्चालन हुने अवस्था भने छैन ।

विकट ग्रामीण वस्तीहरू सडक सञ्जालले जोडिएपनि नियमित नहुँदा समस्या हुने गरेको त्यहाँका स्थानीय कमल विश्वकर्मा बताउछन् । ‘सडक त छ तर नियमित छैन’, उनले भने, ‘सडक विग्रीदा कहिले काहीँ साह्रै समस्या पर्छ ।’
दुरीले हाँसिपुर जिल्लाको सदसमुकाम घोराहीभन्दा करिव २७ किलोमिटर मात्रै टाढा छ । अझ भन्दा त्यसमा करिव ८ किलोमिटर त कालोपत्र समेत भइरहेको छ । तर त्यही कालोपत्रे नभएको बाँकी १९ किलोमिटर वर्षाको समयमा समस्या भएर आउँछ । त्यति मात्रै होइन हरेक किसिमले हाँसिपुर विकट नै मानिन्छ । यस क्षेत्र सडक, विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताका सेवाहरूसँग जोडिएपनि यिनको नियमितता नभएका कारण समस्या हुने गरेको त्यहाँका स्थानीयहरुको गुनासो छ । ‘झट्ट हेर्दा सेवा सबै भएको जस्तो लाग्छ, तर नियमित नहुँदा कहिले केही नभएको महसुश हुन्छ’, स्थानीय मनविर गाहाले भने ।

‘सडक छ सधै सञ्चालनमा समस्या छ, विद्युत छ नियमति र आवश्यकता अनुसार पूर्ति छैन, विद्यालय छन् भनेको र खोजेको जस्तो गुणस्तर छैन, अनि स्वास्थ्य चौकी छन् औषधि छैन, के सुविधा छ भन्ने एक स्थानीयले उल्टै प्रश्न गरे । यी त त्यहाँका समस्या उजागर गर्ने पत्र मात्रै हुन् । अधिकांश मगर वस्ती रहेको हाँसिपुरमा समस्यै समस्या छन् । यहाँका मुख्य पेशा भनेकै आकाशे पानीको भरमा गरिने कृषि हो । समस्यका कारण स्थानीयहरुलाई जीवन जिउन नै समस्या देखिन्छ । नेताहरुले चुनावको समयमा विभिन्न आस्वासन दिने तर भोट पाएपछि फर्केर पनि नहेर्ने चलनले पनि स्थानीयलाई दिकदार बनाएको छ । ‘चुनावमा भोट माग्न नेता घरघरै आउँछन्, चुनाव जितेर गएपछि फर्केर पनि हेर्दैनन्’ स्थानीय मनिकला चर्तिमगरले भनिन् ।