रुपन्देही । सक्कली मदिराको बोतलमा नक्कली मदिरा हालेर विक्री गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न ब्राण्डको मदिराको बोतलमा अवैध तरीकाले मदिरा भरेको र अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गरी विक्री गर्ने दुई जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर केसीका अनुसार पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका वडा नं. ९ का २९ वर्षीय मुख्तार पठान र सोही ठाउँका २८ वर्षीय नवीन पन्थी रहेका छन् ।
प्रहरीले यी दुई युवकबाट ८८४८ ब्राण्डको १८० मिलिलिटरको ४१ थान मदिरा, १८० मिलिलिटरको सिग्नेचर ब्राण्डको १२ थान, ३७५ मिलिलिटरको चार थान, गोल्डन ओक १८० मिलिलिटरको चार थान, ओल्ड दरबार ३७५ मिलिलिटरको चार थान, १८० मिलिलिटरको तीन थान र ब्ल्याक चिम्नी ब्राण्डको एक बोतल मदिरा बरामद गरेको छ ।
यस्तै प्रहरीले यी दुबैबाट पाँच सय ९३ थान नक्कली अन्तःशुल्कको स्टिकर पनि बरामद गरेको केसीले बताए ।
सिद्धार्थनगर नगरपालिका ३ मा भाडामा घर लिई यी दुबै युवाले ब्राण्डेड मदिराका बोतलमा अवैध तरीकाले कमसल रक्सी भरेर, त्यसमा नक्कली स्टिकर टाँसेर बजारमा बिक्री गर्ने गरेका थिए ।
