काठमाडौँ । चालु आर्थिक वर्षमा मुलुकमा उपलब्ध कुल आम्दानी (खर्चयोग्य आम्दानी) भन्दा कुल खर्च करिब सवा २ खर्ब रुपैयाँले बढी हुने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ । यो रकम चालु आवको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब चार प्रतिशत हो ।

कार्यालयका अनुसार चालु आवमा मुलुकको राष्ट्रिय पुँजी निर्माण र अन्तिम उपभोग गरी कुल ६९ खर्ब ६० अर्ब ५५ करोड रुपैयाँ कुल खर्चयोग्य ९आय० रकम छ । सोही अवधिमा मुलुकको कुल राष्ट्रिय आय ६७ खर्ब ३९ अर्ब ९० करोड रुपैयाँ छ । यसरी हेर्दा कुल व्यय ९राष्ट्रिय पुँजी निर्माण र अन्तिम उपभोग० र कुल राष्ट्रिय आयबीचको अन्तर २ खर्ब २० अर्ब रुपैयाँले ऋणात्मक हुने प्रक्षेपण तथ्यांक कार्यालयले गरेको हो । गत आवमा यस्तो स्रोत अन्तर ६ खर्ब २३ अर्ब रुपैयाँले ऋणात्मक थियो ।

गत वर्षको तुलनामा यो वर्ष आयातमा कमी आएको छ । यसले व्यापार घाटामा पनि कमी ल्याएकाले अर्थतन्त्रमा करिब सवा २ खर्ब रुपैयाँले मात्र स्रोत अन्तर ऋणात्मक देखिएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीले बताए । ‘गत वर्ष व्यापार घाटा उच्च रहेको र रेमिट्यान्स आप्रवाह पनि उत्साहित नभएकाले ऋणात्मक स्रोत अन्तरको रकम पनि धेरै थियो,’ उनले भने, ‘यस वर्ष रेमिट्यान्समा उल्लेख्य सुधार भएकाले राष्ट्रको प्राथमिक आय र द्वितीय आय बढेको छ । यसकारण पनि अर्थतन्त्रको स्रोत अन्तर करिब सवा २ खर्बले मात्र ऋणात्मक हुने अनुमान गरिएको हो ।’

विदेशमा गएका नेपालीले गत एक वर्षभित्रमा पठाएको रकम र नेपालीले विदेशमा लगानी गरेबापत प्राप्त भएको प्रतिफललाई राष्ट्रको प्राथमिक आय शीर्षकमा गणना गरिन्छ । यस्तै, नेपालीले विदेश गएको एक वर्षभन्दा पछि पठाएको रकम र सरकार, गैरसरकारी संघसंस्था, व्यक्ति र परिवारले प्राप्त गरेको सहयोग तथा अनुदानमार्फत प्राप्त रकमलाई द्वितीय आयमा गणना गरिन्छ ।

चालु आवमा नेपालले प्राथमिक आयबापत ८२ अर्ब रुपैयाँ र द्वितीय आयबापत १३ खर्ब २२ अर्ब रुपैयाँ प्राप्त गर्ने अनुमान तथ्यांक कार्यालयले गरेको छ । गत आवको तुलनामा उल्लिखित दुवै आम्दानी बढेका छन् । आयात घटेको र रेमिट्यान्स आप्रवाह बढेकाले ती आम्दानी पनि बढेको कार्यालयले प्रस्ट्याएको छ । गत आवमा ५७ अर्ब रुपैयाँ प्राथमिक आम्दानी र ११ खर्ब २५ अर्ब रुपैयाँ द्वितीय आम्दानी प्राप्त भएको तथ्यांक कार्यालयले जनाएको छ । त्यसो त आव ०७५र७६ मा स्रोत अन्तर २ खर्ब ६५ अर्ब रुपैयाँले ऋणात्मक थियो । ०७६र७७ मा यस्तो रकम घटेर ३३ अर्ब ७६ करोड रुपैयाँ मात्र ऋणात्मक रहेको स्रोत अन्तर ०७७र७८ मा फेरि बढेर ३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको थियो । कान्तिपुरबाट