काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सांसद टोपबहादुर रायमाझी अहिले पनि प्रहरीको सूचीमा फरार सूचीमा छन् ।
फरार सूचीमा रहेका रायमाझैले केही दिन अघि मात्र आफू विरामी परेको खबर संसद सचिवालयमा पठाएका थिए । तर त्यो पत्र कसले ल्यायो र उनी विरामी कुन अस्पतालमा छन् भन्ने केही खुलाएको छैन । यसरी पत्र ल्याउने व्यक्ति नै पहिचान नभएपनि प्रहरीले ती व्यक्ति पत्ता लगाउन तर्फ लागेको छ ।
जसका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले संसद् सचिवालयबाट सीसीटिभी फुटेज लगेको छ । संसद् सचिवालयसँगको समन्वयमा सिआइबीले वैशाख २५ गतेको सिसिटिभी फुटेज शुक्रबार लिएर गएको हो ।
सिआइबीले सांसद रायमाझी खोज्न सहयोगका लागि संसद् सचिवालयलाई पत्र लेख्दै सहयोग मागेको थियो । शुक्रबार संसद् सचिवालयबाट सीआईबीले सीसीटिभी फुटेज लगेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताएका छन् ।
वैशाख २५ गते रायमाझीका सहयोगीले सभामुख देवराज घिमिरेको कार्यकक्षमा गएर उनी बिरामी भएको पत्र बुझाएर सिंहदरबारबाट निस्किएका थिए । ती व्यक्ति को थिए भन्ने पहिचानका लागि सिआइवीले सिसिटिभी फुटेज लिएर गएको हो ।











