काठमाण्डौ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा प्रदेश र जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने आवाज उठेको छ । बिहीबारदेखि सुरु भएको बैठकमा समूहगत धारणा राख्ने क्रममा केही नेताहरूले प्रदेश खारेज गरेर केन्द्र र पालिकालाई बलियो बनाउनुपर्ने सुझाव दिएका हुन् ।
प्रदेश र जिल्ला समन्वय समितिले केही पनि काम गर्न नसकेको ती नेताहरुको भनाइ छ । केही नेताहरुले लिखित रुपमा र केही नेताहरुले बोल्ने क्रममा प्रदेश संरचना खारेजीको विषय उठाएका छन् । प्रदेश संरचना खारेज गरेर सुधारिएको संघीयतामा जान सकिने नेताहरुको प्रस्ताव छ ।
बैठकमा शासकीय स्वरुप र चुनाव प्रणालीको पुनरावलोकन गर्नुपर्ने आवाज पनि उठेको छ । यस्तै एमाले केन्द्रीय सदस्यहरुले हरेक वर्ष विभिन्न पदमा बसेका पदाधिकारी सहितका नेताहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न पनि सुझाव दिएका छन् ।
