अभिषेक बोहरा / दाङ : आजभोलि पर्यटनको बिट फराकिलो हुँदै गएको छ। पर्यटकहरु प्रकृति र संस्कृतिसँग मात्र होइन इतिहासको खोज अनुसन्धान गर्न समेत रुचाउँछन्। दाङ जिल्लामा खोज अनुसन्धान गर्न आउने पर्यटकहरुका लागि गोरक्ष पात्रदेव सिद्ध रत्ननाथ मन्दिर मठ पुग्नैपर्ने हुन्छ। किनकि दाङको इतिहास १४ औं र १५ औं शताब्दीभन्दा पुरानो भेटिएको छैन। दाङको इतिहासमा दंगीशरण, चल्लवंशीय राजा र सिद्ध रत्ननाथ मठनै इतिहास हो। दाङको इतिहास खोज्न र खोज अनुसन्धानमा रुचि राख्ने पर्यटकहरु यी सम्पदामा पुग्नैपर्ने हुन्छ।
घोराही उपमहानगरपालिका वडा नम्बर १७ चौघेरा दाङमा अवस्थित गोरक्ष रत्ननाथ मन्दिर घोराही बजारदेखि पूर्व दुई किलोमिटरको दुरीमा अवस्थित छ । विसं ८०९ मा स्थापना भएको यस मठको नेपालकै प्राचिन, ऐतिहासिक पुरातात्विक महत्व छ । श्री गोरक्ष पात्रदेवता सिद्धनाथ मठ, जसको ऐतिहासिक परम्परा विसं ८०९ सालेदेखि आजसम्म चलिआएको छ । यस मठको साँस्कृतिक धार्मिक योगिक धरोहरले हाम्रो वैदिक सनातन धर्मलाई संरक्षण गर्दै आएको छ । योगी सिद्धरत्ननाथ ज्युले स्थापना गरेको शिव गोरक्षनाथले स्थापना गरेको शिव गोरक्षनाथ, ८४ सिद्ध, ६४ योगिनी र बाला सुन्दरीको हठ योगले युक्त तान्त्रिक पूजा परम्परा आजका दिनसम्म जीवन्त शाश्वत् तथा निरन्तर रही आएको छ ।
विशेष गरेर यस मठमा फागुन कृष्ण विजया एकादशीका दिनमा पीर स्थापनाको मेला लाग्दछ । जनै पूर्णिका दिन कालीरोटी कायम रहेको छ । यहाँको ऐतिहासिक स्थलहरुमा एक हजार २ सय वर्ष पुरानो प्राचिन कुवा, गौलची वृक्ष, वट वृक्ष, लता, सिद्ध बैजनाथलिको समाधिस्थल, राष्ट्रगुरु गोगी नरहरी नाथद्धारा लगाईएको कोटिहोम स्थल, गोरखनाथ वैदिक गुरुकुल, विसं २०३३ सालमा स्थापना भएको नेपालकै पुरानो गोरक्षनाथ पुस्तकालय आदि रहेका छन् ।
सामान्यतया एउटा इनार(कुवा)को आयु कति हुन्छ ? बढीमा एक सय दुई सय वर्ष । कति त एक दुई वर्षमा नै इनारहरु सुकेका इतिहास पनि भेटिन्छ । तर दाङमा एउटा यस्तो कुवा छ । झण्डै १३ सय वर्ष पुरानो । त्यो पनि अहिले निरन्तर रुपमा पानी आइरहेको इनार ।यही इनारबाट दिनहुँ पानी निकालिन्छ र गोरक्षरत्ननाथ मन्दिरमा विशेष पूजा आराधनासँगै यही इनारको जल चढाइने गरेको गोरक्ष रत्ननाथका मठाधीश (प्रमुख) योगी देवनाथले बताए । उनले कुवाको पानी १२ महिना प्रयोग हुने भन्दै १३ सय वर्ष पुरानो भएको दावी गरे । निर्माण र स्थापनाको कुनै लिखोट नभए पनि मन्दिरसंगै स्थापना भएको हुदा यसको इतिहास लामो भएको उनको तर्क छ ।
मन्दिर परिसरमा रहेको इनारसँगै फूलको लागि रोपिएको रुख पनि छ । त्यो रुख पनि १३ वर्ष पुरानो छ ।
अहिले त्यो रुखमा विभिन्न आकृतिहरु समेत देखिने गरेका छन् । त्यो पनि भगवानकै शक्ति रहेको स्थानीयहरुको जिकिर छ । इनारनजिकै गलैंचीको रूख छ । रत्ननाथले पानीका लागि इनार र फूलका लागि गलैंची रोपेका जनविश्वास छ । गलैंचीसँगै मन्दिर परिसरबाहिरका केही वरपिपलका रूख पनि इनारजत्तिकै पुराना मानिन्छ ।
