काठमाडौँ । विभिन्न कारणले लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका आगामी वैशाख महिनादेखि सबै खुला हुने भएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच हालै चीनमा भएको भेटका क्रममा (मे १) वैशाख १८ गतेदेखि चीनतर्फका सबै नाका खुला हुने सहमति भएको हो ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले मे १ देखि चीनतर्फ व्यापारिक र सिजनल सबै नाका खुला हुने जानकारी दिएका छन् ।
भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको कोदारी नाका र हुम्लाको यारी नाकालगायतका अन्य सबै नाका खुलाउने सहमति भएको प्रवक्ता रेग्मीले बताए । चीनतर्फका नाकाहरूमा मुस्ताङको कोरला, सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङ्चुङ्गोला रहेका छन् । मुगुको न्याङ्चे, दार्चुलाको व्यास, गोरखाको चुम्नी र डोल्पाको उत्तरी नाकासमेत खुला हुने मन्त्रालयले जनाएको छ ।
चीनतर्फका व्यापारिक नाका रसुवाको केरुङ, कोदारी र यारी रहेका हुन् । केरुङ र कोदारी नाकाबाट सामान आयात निर्यात धेरै हुने गर्छ ।
