काठमाडौं । आगामी बैशाख १० हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। मनोनयन दर्ताका लागि सम्बन्धित क्षेत्रमा सञ्चालनमा आएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विहान १० बजेदिेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको छ ।
आयोगले निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थक सहित बढीमा २५ जनाभन्दा बढीको जुलुस लिएर जान नपाइने जनाएको छ।
निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नुपर्नेछ।
गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नं १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं२ का लागि उपनिर्वाचन हुन लागेको हो।
