दाङ, ९ साउन
राप्ती अञ्चलको एक मात्र ग्यास उत्पादक कम्पनी राप्ती ग्यास उद्योग प्रालिले २५ हजार सिलिण्डर थप गरेको छ । दाङको सतवरिया–६ देउखुरीमा रहेको राप्ती ग्यासले नेपाल आयल निगमले कोटा बढाएपछि सिलिण्डर थप गरेको हो । उद्योगका सञ्चालक खड्क बुढाथोकीका अनुसार यसअघि उद्योगमा ५५ हजार ग्यासका सिलिण्डर थिए । थपिएकासहित राप्ती ग्यासका सिलिण्डरको सङ्ख्या ८० हजार पुगेको छ ।
उद्योगले हाल मासिक २६ हजार सिलिण्डर ग्यास उत्पादन गरिरहेको छ । यसअघि मासिक २० हजार सिलिण्डर ग्यास उत्पादन हुने गरेको बुढाथोकीले जानकारी दिए ।निगमले मासिक ग्यास विक्रीको अनुपातमा तीन गुणा बढी सिलिण्डर थप्न दिन्छ । सिलिण्डर सङ्ख्या बढेसँगै उद्योगको लगानीसमेत बढेको छ ।
क्षमता बढाउनको लागि थप ४ करोड रुपैयाँ लगानी गरिएको बुढाथोकीले दावी गर्नुभयो । राप्ती ग्यास अहिले राप्तीका दाङ, रोल्पा, रुकुम, सल्यान, प्यूठानसहित बाँके बर्दिया, कैलाली, सुर्खेत, कपिलवस्तु र रुपन्देहीमा विक्री भइरहेको छ ।।