काठमाडौँ । सत्ताका लागि अवसर छोप्न रतिभरी पछि नपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज निर्णायक वार्ता गर्ने भएका छन् ।

आफू अनुकुल राष्ट्रपतिको उम्मेदवार खोज्न कहिले काग्रेस त कहिले अन्य दलहरुसँग दौडधुप गरिरहेका प्रचण्डले आज शुक्रबार ओलीसँग निर्णायक वार्ता गर्न लागेका हुन् ।

बिहीबार साँझ सिंहदरबारमा बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबीचको बैठकबाट बाहिरिने क्रममा उनले राष्ट्रपतिको विषयमा सबैसँग छलफल चलिरहेको भन्दै सहमति भने नजुटेको बताए ।

‘छलफल चलिराख्या छ, फाइनल भइसकेको छैन । कुन दलले राष्ट्रपति पाउने भन्ने अहिले भइसकेको छैन । यस विषयमा शुक्रबार ओलीजीसँग फाइनल वार्ता गर्छु’, उनले भने ।

ओलीसँगको वार्ता अघि प्रचण्डले आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि वार्ता गर्ने भएका छन् । हिजो सिंहदरबारको बैठकले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरेकोले यस विषयमा कांग्रेससँग पनि छलफल गर्न लागिएको हो ।