काठमाडौं । फागुन २५ गते हुने राष्ट्रपति चुनावका लागि आज शुक्रवार मतदाताको अन्तिम नामावली प्रकाशन हुदैछ । मतदाता नामावलीमा समावेश नाममा छानबिनपछि आज अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ ।
मतदाता नामावलीमा नाम समावेश तथा नामावली सच्याउन पाँच वटा निवेदन परेका छन् । आगजनी मुद्दामा छ महिना कैद भई निलम्बन अवस्थामा मतदाता सूचीमा नपरेका कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीले नाम समावेशका लागि निवेदन परेका छन् ।
राष्ट्रपतिबाट आममाफी पाएर निलम्बन फुकुवा भएपछि चौधरीले आफ्नो नाम समावेशका लागि निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् ।
यसैगरी अन्य चार वटा निवेदन भने नाम सच्याउने विषयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रपति चुनावमा प्रतिनिधि सभाका २७३, राष्ट्रिय सभाका ५९ र प्रदेश सभाका ५५० गरी कुल ८८२ मतदाता छन् । सङ्घीय संसद्तर्फ एक मतदाताको मतभार ७९ र प्रदेश सभातर्फ ४८ मतभार रहेको छ । भोलि शनिवार राष्ट्रपतिको उम्मेदवारी दर्ता हुनेछ ।











