काठमाडौं । नेकपा एमालेका राष्ट्रपति उम्मेदवारलाई माओवादी केन्द्रले स्वीकार गर्ने नदेखिएपछि एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गर्यो । अझ भन्दा पार्टी विभाजनपछि पानी बाराबारको अवस्थामा रहेका एमाले अध्यक्ष केपी ओलीले नै एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरे ।
राष्ट्रपति निर्वाचनले पानी बाराबारको अवस्थामा पुगेका ओली र नेपाललाई नजिक्याउँदै लगेको छ । एमालेको प्रस्तावमा नेता नेपाललाई वाम पार्टीका तर्फबाट राष्ट्रपतिमा राष्ट्रिय सहमतिको उम्मेदवार बनाउनेदेखि पार्टी एकता गर्नेसम्मको छलफलमा उनीहरू जुटेका छन् ।
गत शनिबार पूर्वमन्त्री तथा समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ (किसान) को महाराजगन्जस्थित निवासमा दुई नेताबीच भएको लामो छलफल मुख्यतः पार्टी एकता र राष्ट्रपति निर्वाचनको एजेन्डामा केन्द्रित थियो । दुवै एजेन्डालाई राष्ट्रपति निर्वाचनअगावै टुंगोमा पु¥याउने उनीहरूको योजना छ ।
ओलीले राष्ट्रपतिको उम्मेदवारमा प्रस्तावको कुरा अघि सारेपछि नेपाल पनि आकांक्षी देखिएका छन् । तर उनले यो बारेमा अझै मुख भने खोलेका छैनन् । बरु नेपालले राष्ट्रपतिको निर्वाचन होइन सत्ताको पावर सेरिङमा आफ्नो पार्टीका पनि महत्वपूर्ण भूमिका रहने बताएका छन् ।











