काठमाडौं । भावी राष्ट्रपति निर्वाचनको पेचिलो राजनीतिले सातदलीय सत्तागठबन्धन विघटनको डिलमा पुगेको छ । कुनै ठूलो राजनीतिक बदलाव नआए पाँचदलीय गठबन्धन ब्युँताउने कांग्रेसको प्रयासले राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्नुअघि नै ठोस आकार लिने नेताहरूको दाबी छ ।
संसद्को सबैभन्दा ठूलो दल कांग्रेस राष्ट्रपति निर्वाचनबाट पुरानै गठबन्धन ब्युँताएर ‘कोर्स करेक्सन’ गर्ने योजनामा छ । यसका लागि उसले बुधबार माओवादी, एकीकृत समाजवादी, जसपा र लोसपाका शीर्ष नेताहरूसँग रणनीतिक छलफल गरेको छ । कांग्रेस नेताहरू छलफलबाट उत्साही छन् ।
गत मंसिरको निर्वाचनमा कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धनले बहुमत हाराहारीमा सिट जितेको थियो । तर, पूर्वसहमतिविपरीत कांग्रेसले पहिलो कार्यकालका लागि प्रधानमन्त्री र राष्ट्रपतिमा दाबी गरेपछि गठबन्धन भत्किएको थियो । कांग्रेसले ‘आत्मघाती’ अडान नछाडेपछि माओवादी अध्यक्ष प्रचण्ड एमालेसहित सात दलको समर्थनमा गत १० पुसमा प्रधानमन्त्री बनेका थिए । तर, दुई महिनामै गठबन्धन भत्किने अवस्थामा पुगेको छ ।
तर, गत २६ पुसमा प्रमुख प्रतिपक्षी कांग्रेससहितका विपक्षी दलहरूले पनि प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएपछि माओवादीले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने अडान लिँदै आएको छ । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग निरन्तर छलफल गरे पनि सहमति जुट्न सकेको छैन । ओली राष्ट्रपतिमा माधव नेपाललाई अघि सारेर भएपनि यही गठबन्धन जोगाएर अघि बढ्ने रणनीतिमा छन् ।
तर, बुधबार दिनभरीका राजनीतिक भेटघाटले परिस्थिति फेरिन देखिन्छ । बिहान लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरूसँग छलफल गरेका कांग्रेस सभापति शेरबहादुर देउवाले त्यसपछि क्रमशः जसपा अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादीका अध्यक्ष प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका छन् । छलफलमा दोस्रो तहका नेताहरू पनि सहभागी थिए । कांग्रेस र माओवादीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा र अन्य भेट कांग्रेस सभापतिको निवास धुम्बाराहीमा भएका हुन् ।
कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतका अनुसार तत्कालीन पाँचदलीय गठबन्धन ब्युँताएर जानेबारे सकारात्मक कुरा भएको छ । बिहीबार अरू दलसँग छलफल गरेर निष्कर्ष निकाल्ने प्रयास गरिने उनले बताए । ‘हामीले पुरानो गठबन्धनलाई कायम गरेर जानेबारे प्रधानमन्त्रीसहित अन्य दलहरूसँग छलफल ग¥यौँ । बुधबारको छलफल सकारात्मक नै छ । लोसपा, जसपा, जनमोर्चालगायतका दलहरूसँग फेरि पनि छलफल गरेर बिहीबार निष्कर्षमा पुग्ने प्रयास हुन्छ,’ महतले भने, ‘पुरानै गठबन्धनका तर्फबाट अघि बढाइने उम्मेदवार राष्ट्रपति बन्छ ।’ राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उम्मुक्ति पार्टीलाई समेत गठबन्धनमा अटाउनेबारे पनि छलफल भइरहेको स्रोतको भनाई छ ।
बालुवाटार स्रोतले पनि दलीय समीकरण बदलिने सम्भावना बढ्दै गएको बताएको छ । ‘राष्ट्रपतिको निर्वाचनले दलीय समीकरण बदलिने बलियो सम्भावना देखिएको छ,’ प्रधानमन्त्री र कांग्रेस नेताहरूसँगको छलफलबारे जानकार एक माओवादी नेताले भने । ती नेताका अनुसार बिहीबार पनि छलफल जारी रहनेछ, प्रधानमन्त्री प्रचण्ड छलफलका लागि देउवानिवास धुम्बाराही जाँदै छन् ।
छलफलमा कांग्रेस सभापति देउवाले पुरानो पाँचदलीय गठबन्धन ब्युँताएर राष्ट्रपति निर्वाचनमा जान प्रधानमन्त्री प्रचण्डसँग प्रस्ताव गरेका थिए । राष्ट्रपतिमा आफ्नो पार्टीलाई सघाउन पनि उनको आग्रह थियो । प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टी र अन्य सत्तासाझेदार दलहरूसँग छलफल गरेर मात्रै निर्णयमा पुग्ने जवाफ दिएको स्रोतको भनाइ छ । नयाँ पत्रिकाबाट











