दाङ । दाङ प्रहरीले भारतमा काम लगाइदिने भन्दै एक युवतीलाई ललाई फाकाई कोठीमा विक्री गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका १४ बस्ने ३९ वर्षका टोपली सार्की र सोही ठाउँ बस्ने ५२ वर्षका विमुसा सार्की रहेका छन् ।

टोपलीले स्थानीय वर्ष २० की एक युवतीलाई भारतको चण्डीगढमा नोकरी लगाइदिन्छु, काम राम्रो छ, तलब राम्रो छ भन्दै ललाई फकाइ लिएर त्यहाँस्थित कोठीमा मोटो रकममा विक्री गरेको आरोप छ । पीडित ती युवतीका परिवारले आफ्नी छोरी विक्री भएको थाहा पाएपछि प्रहरीमा उजुरी दिएका थिए ।

ती युवतीले कोठीको मालिकले जवरजस्ती यौनधन्दामा लगाएको र काम नगरे जेपनि गर्ने धम्की दिएपछि आफू विक्री भएको थाहा पाएकी थिइन् । यसरी आफूले १२ दिनसम्म सोही कोठीमा जवरजस्ती यौन शोषण भएको र आफू विक्री भएको परिवारलाई जानकारी गराएपछि पीडित युवतीका परिवार प्रहरीमा उजुरी दिन पुगेको खुल्न आएको छ । पीीडत युवतीको परिवारले माघ २२ गते आफ्नो छोरी वेचविखनमा परेको उजुरी दिएपछि प्रहरीले विभिन्न संघसंस्थाको सहयोगमा ती युवतीलाई उद्दार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यसरी युवतीलाई विक्री गर्ने निज व्यक्तिहरुलाई फागुन ४ गते घोराही १४ स्थित शेखर होटलबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । टोपली घोराही लखनपार्कमा रहेको एक होटलकी साहुनी समेत हुन् । पक्राउ परेकाहरुलाई मानव वेचविखन तथा ओसारपसार ऐन अअन्तर्गतको जघन्य अपराध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।