नारायण भण्डारी
तुलसीपुर, ९ साउन
परम्परा अनुसार चल्दै आएका नेपाली संस्कारलाई समयानुकुल रुपान्तरण गर्दै जानुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । राष्ट्रिय जनमोर्चा दाङका सल्लाहकार मनिराम खनाल प्रति शोक प्रकट गर्न आयोजना गरिएको सभामा बोल्ने राष्ट्रिय जनमोर्चाका नेताहरुले सास्कृतिक रुपान्तरणको आवश्यकता औंल्याएका छन् । बक्ताहरुले समाजमा आडम्वर र अन्धविश्वासका रुपमा रहेका पुरातन सस्कारको विकल्पमा जनवादी संस्कृतिको विकास गर्नुपर्ने बताएका थिए ।
मृतकका माइला छोरा घनश्याम खनालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय सदस्य काशिनाथ पोख्रेलले दिवंगत मनिराम खनाल हरेक बामपन्थी भड्काव तथा सास्कृतिक बिचलनमा अविचलित हुने नेता भएको बताउनु भयो । शोक सभाका प्रमुख बक्ता रहनुभएका पोख्रेलले मनिराम सैद्धान्तीक भन्दा पनि बढि ब्यवहारिक भएको चर्चा गर्दै उहाँले देखाएको बाटोमा हिडेमात्र उहाँ प्रतिको सच्चा श्रदाञ्जली हुने छ भन्नु भयो ।
अर्का बक्ता तथा राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सदस्य भरत भण्डारीले मरेर पनि बाँच्ने मान्छे मध्य मनिराम पनि एक भएको बताउनु भयो । दिवंगत खनालले दाङको कम्युनिष्ट आन्दोलन, यस क्षेत्रको शिक्षा र समाजको विकासका लागि पु¥याएको योगदानको चर्चा गर्दै नेता भण्डारीले गरिव, दुःखीका पीडामा साथ दिने मनिरामको समाजमा सदै अभाव रहने बताउनु भयो । राष्ट्रिय जनमोर्चाको केन्द्रीय सदस्यले कमला जिसीले धर्म संस्कृतिको संरक्षण गर्ने ठेकेदारहरुले समाजलाई भ्रममा पारेर नेपाली संस्कारलाई महंगो बनाएको बताउनु भयो ।
अन्य संस्कारको तुलनामा मृत्यु संस्कारका क्रममा गरिने क्रियाकलाप गरिव जनताको पक्षमा नरहेको भन्दै जिसीले सास्कृतिक रुपान्तरणको आवश्यकता औंल्याउनु भयो । राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष रेसम विसीले नेपाली समाजको सती प्रथाको अन्त्य भएझै समाजमा रहेका आडम्वरी प्रथाहरुको पनि विस्तारै अन्त्य हुने बताउनु भयो । यसैबीच दिवंगत मनिराम खनालले आफ्नी श्रीमतीको सम्झनामा उच्च मावि गुरुजजुरमा स्थापना गर्नु भएको २२ हजार बराबरको देवकला स्मृति अक्षयकोषमा खनाल परिवारले आज तीस हजार रुपैयाँ थप गरी मनिराम, देवकला स्मृति अक्षयकोष स्थापना गरेको छ ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीका सचिव गणेश आचार्यको सञ्चालनबाट सुरु भएको कार्यक्रममा दिवंगत खनालको जीवन माइला छोरा घनश्याम खनालले प्रस्तुत गर्नुभएको थियो । ८६ बर्षिय खनालको दमका कारण गत असार २७ गते उपचारका लागि काठमाण्डौं लैजाँदै गर्दा माटोमा निधन भएको थियो । दिवंगत खनाल राष्ट्रिय जनमोर्चा र नेकपा मसाल जिल्ला समिति दाङ देउखुरीका सल्लाहकार, हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तलसीपुर दाङका सल्लाहकार र गुरुजजुर उच्च मावि तुलसीपुर २ रक्षाचौरको ब्यवस्थापन समिति सदस्य हुनुहुन्थ्यो ।।
