घोराही । धार्मिक क्षेत्र धारापानीमा शुक्रबारदेखि शिवरात्रि मेला शुरु भएको छ । विगतका वर्षमा शिवरात्रिका दिन मात्रै लाग्दै आएको मेला यसवर्ष शिवरात्रिको एक दिनअघि र एक दिनपछि गरी तीन दिनसम्म चल्ने भएको छ ।

शुक्रबार सयौं भक्तजनको चहलपहल शुरु भएको छ । मेलालाई व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन गर्नुका साथै सुरक्षा व्यवस्था समेत मजबुत पारिएको पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सचिव तथा प्रवक्ता विष्णुराम आचार्यले जानकारी दिनुभयो । मेलालाई भव्य र व्यवस्थित बनाउन १८ वटा विभिन्न उपसमिति गठन गरी परिचालन गरिएको छ । मेलामा यातायात व्यवस्थापन अन्तर्गत पार्किङ शुल्क र व्यापारका लागि स्टलको दररेट समेत तोकिएको छ ।

मेला अवधिभर फागुन ५, ६ र ७ गतेका लागि मोटरसाइकलका लागि १०, अटो रिक्सा तथा टेम्पोका लागि २५, जीप तथा कारका लागि ३०, सानो ठूलो टेक्टरका लागि ५० र मिनी वस, बस तथा ट्रकका लागि एक सय रुपैयाँ पार्किङ शुल्क तोकिएको छ । मेलामा मदिरा बेचबिखन तथा सेवनलाई निषेध समेत गरिएको छ ।

बिहीबार राति १२ बजेदेखि फागुन ७ गते राति १२ वजेसम्म पूर्वमा धार्मिक वनको सिमाना भलाई सोता, पश्चिममा पिच सडक, उत्तरमा बबई नदी र दक्षिणमा धार्मिक वन सिमानासम्म मदिराजन्य वस्तुको बेचबिखन तथा सेवनमा निषेध गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले जानकारी दिनुभयो ।