धनगढी । निलम्बित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीको मुद्दामा दिपायल उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार रिटमा बहसपछि अदालतले ‘मुद्दाको सुनुवाइ प्रक्रिया जारी रहेकाले तत्काललाई केही गरिरहनु परेन’ भन्ने आदेश गरेको छ ।
दिपायल उच्च अदालतका न्यायाधीश देशबहादुर सार्की र गणेश ठाकुरको संयुक्त इजलासले ‘मुद्दाको सुनुवाइ गर्दा कैलाली जिल्ला अदालतले लिखित जवाफ पेस गर्न नसकेकाले सुनुवाइको प्रक्रिया जारी रहेको’ समेत आदेशमा उल्लेख गरेको छ ।
१३ वर्षअघि कैलालीको लम्कीमा एउटा ट्याक्टर जलाएको आरोपमा प्रतिनिधि सभा सदस्य अरुणसहित तीन जनाविरुद्ध कैलाली जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । अदालतले २०७० साल वैशाख ९ गते सांसद चौधरीसहित तीन जनालाई जनही ६ महिना कैद र जलाइएको ट्याक्टरको विगोबापत आठ लाख १९ हजार ४२३ रुपियाँ भराउन आदेश गरेको थियो ।
कैलाली क्षेत्र नम्बर २ बाट चौधरी जनमुक्ति पार्टीबाट भएका थिए । तर प्रतिनिधि सभा सदस्य अरुणसहित तीनै जनाले कैद भुक्तान गरेका थिएन । न त बिगोबापतको रकम नै तिरेका थिए । चौधरीलाई गत माघ १९ गते प्रहरीले बाँकेको कोहलपुरस्थित एक रिसोर्टबाट पक्राउ गरेको थियो । पक्राउपछि कैलाली जिल्ला अदालतले चौधरीलाई कारागार चलान गरेको थियो ।











