धनगढी । सुदूरपश्चिम प्रदेश सभा बैठक भोलि स्थगित भएको छ । आज बुधवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक भोलि बिहीवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।
आजको बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मतको प्रस्ताव पेस गर्ने कार्यसूची थियो । सुदूरपश्चिम सरकार गठनमा मुख्यमन्त्री रावललाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि प्रदेश सभा बैठक स्थगित भएको हो ।
नागरिक उन्मुक्ति पार्टीले संरक्षक रेशम चौधरीसहित टीकापुर घटनामा जेलमा रहेकाहरूलाई रिहाइ गर्नुपर्ने माग गरिरहेको छ । नागरिक उन्मुक्ति पार्टीले आफूहरूका माग पूरा नभएसम्म सरकारमा नजाने अडान राख्दै आएको छ ।











