हेटौँडा, १८ माघ । हेटौँडा उपमहानगरपालिकाले मेयर र उपमेयरको तोक आदेशमा जागिर खाएका ७१ जना करार कर्मचारीलाई हटाएको छ । उपमहानगरले करार र ज्यालादारीमा कार्यरत कर्मचारीलाई हटाएको हो ।
उपमहानगरले चौथो तह, पाँचौँ तह र छैटौँ तहसम्मका ७१ जना कर्मचारी हटाएको हो । उपमहानगरपालिकामा कार्यरत कम्प्युटर अप्रेटर, स्वास्थ्य, प्रशासन, प्राविधिक कर्मचारी हटाइएको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले बताए ।
उपमहानगरको कार्यपालिका बैठकको निर्णयले एकै पटक यति धेरै सङ्ख्यामा कर्मचारी हटाएको हो । परीक्षाको सामान्य प्रक्रिया पनि पूरा नगरिकन तोक आदेशका भरमा जागिर खाएकाहरूलाई हटाइएको उपमहानथरपालिकाले जनाएको छ ।
हेटौडा उपमहानगरपालिकाले मात्रै होइन पछिल्लो समयमा देशका अधिकांश स्थानीय निकायले हचुवाको भरमा आफ्ना भन्नेहरुलाई नियुक्त गर्ने भर्तिकेन्द्र नै बनाएका छन् ।











