पाल्पा, १६ माघ। पाल्पाको तिनाउ गाउँपालिका–२ भूतखोलामा घुम्न पुगेका एक जनाको भूतखोलाको तालमा डुबेर मृत्यु भएको छ ।
सिद्धार्थ राजमार्गको छेउमा पर्ने तिनाउको पर्यटकीय स्थल भूतखोलामा फोटो खिच्ने क्रममा खस्दा डुबेर आइतबार साँझ पश्चिम नवलपरासीका २४ वर्षीय अजिम पठानको मृत्यु भएको हो ।
रुपन्देहीको सिद्धार्थनगर –४ का २२ वर्षीय साथी दीपककुमार बानियासँगै घुम्न गएका पठानले फोटो खिच्न बनाइएको सेल्फीजोनको पुलमा बसेर फोटो खिच्ने क्रममा ढुङ्गामा चिप्लेर खसेको प्रहरीले जनाएको छ ।
खोलाको पानी जमेर बनेको दहमा पठान डुबेलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएकोमा त्यहाँ पुगेलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।











