काठमाडौ । सुदुरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा यो बर्षको पहिलो हिमपात भएको छ । वर्षात तथा हिमपातले अत्यधिक चिसो बढेपछि मुगुको जनजिवन प्रभावित बनेको छ । हिउँ पर्दा स्थानीय कृषक भने खुसी भएका छन् । यो वर्ष ढिलै भएपनि हिउँ परेपछि अन्नबाली र फलफूल उत्पादन राम्रो हुने कृषकहरुको विश्वास छ । लामो समयपछि वर्षा भएकाले हिउँदे बाली र फलफूल सप्रिने आशा पलाएको किसानले बताए ।

आसपासका बस्तीबाट सरकारी कामकाजका लागि मुगु आउने सर्वसाधारणलाई चिसोले कामकाजमा कष्ट भएको छ । उता बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगासलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको जनाइएको छ ।

वर्षा र हिमपातका कारण चिसो बढेको छ । चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोले बालबालिका, दैनिक ज्याला मजदुरी गर्ने, वृद्धवृद्धा बढी प्रभावित भएका छन् । चिसोबाट बच्न न्यानो लुगा लगाउन, झोलिलो कुरा सेवन गर्न, घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।