काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले आफ्ना जहाजहरुको रिर्पोट हरेक दिन मन्त्रालयमा पेश गर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन । आज निगमको कार्यालयमा अनुगमन गर्दै मन्त्री किरातीले कुन जहाज, कति बजे, कहाँ डिले भयो ? भन्ने सम्मको रिर्पोट आफूलाई हरेक दिन बुझाउन निगमलाई पदाधिकारीलाई निर्देशन दिएका हुन ।

मन्त्री किरातीले निगमको समस्या समाधान हुने गरी विजनेश प्लान तत्काल बनाएर आफू समक्ष पेश गर्न पनि निगम पदाधिकारीलाई सचेत गराएका छन । गुच्छा जत्रो समाधान लिएर भकुण्डोजत्रो समस्याको समाधान नहुने कुरामा हेक्का राख्न पनि निगमलाई मन्त्री किरातीको चेतावनी दिए ।

मन्त्री किरातीले नेपाल वायु सेवा निगमलाई गौरवको विषय बनाउने गरी कार्ययोजना बनाउन पनि ढिलाई गर्न नहुने बताए ।
यदि त्यसो गर्न नसक्ने हो भने निगम पदाधिकारीहरुले तत्काल राजीनामा दिनुपर्ने पनि उनले स्पष्ट पारे । मन्त्री किरातीले १ महिना भित्र अनलाईन टिकट पाउने गरी आवश्यक व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन ।

मन्त्री किरातीले निगमलाई मान्छेहरुले घृणा गर्ने गरेको उल्लेख गर्दै त्यसलाई असफल बनाउने छुट कसैलाई पनि नभएको पटकपटक दोहो¥याए । निगमलाई समय, सन्दर्भ वा आफू कसैले पनि असफल हुने छुट दिन नसक्ने उनको भनाइ छ । मन्त्री किरातीले अन्य जहाजहरु नाफामा हुने तर निगमको जहाज भने घाटामा हुने कारणको खोजी गर्नुपर्ने समेत बताए ।