काठमाडौ । सूचना तथा संचारमन्त्री रेखा शर्माले अर्थमन्त्री बिष्णु पौडेलसँग राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा एम.बि.बि.एस. पढाई संचालन गर्न र अलपत्र रहेको घोराही तुलसीपुर चारलेन सडक निर्माणका बिषयमा छलफल गर्नु भएको छ ।
अर्थमन्त्री बिष्णु पौडेल निवासमा आज दुबै पक्षका बिच छलफल भएको हो । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थापना भएको लामो समय बितिसक्दा पनि पढाई संचालन नभएको बताउँदै त्यसका लागि आबश्यक पर्ने बजेट र प्रतिष्ठानलाई चाहिने जग्गा ब्यबस्थापन गर्ने बिषयमा छलफल भएको संचारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
यसका साथै अलपत्र परेको घोराही –तुलसीपुरको चारलेन सडक निर्माणका बिषयमा कुराकानी भएको थियो । ठेकेदारले समयमै काम नगर्दा ठुलो जनधनको क्षति भएको बताउँदै तत्काल सडक बनाउँने बिषयमा कुन उपाय अबलम्बन गर्न सकिन्छ भनेर छलफल भएको थियो ।











