महाराजगन्जस्थिति त्रिवि शिक्षण अस्पतालमा अनसनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीका माग सम्वोधनका लागि दवाव दिन काठमाण्डुमा आज प्रदर्शन गरिएको छ । डा. केसीको माग सम्बोधन र जीवन रक्षाका लागि दबाब दिन माइतिघरदेखि नयाँवानेश्वरसम्म दवाव ¥याली निकालिएको थियो । प्रदर्शनमा सहभागीहरुले डा केसीले राखेका माग लेखिएका प्लेकार्ड बोकेका थिए ।
कतिपयले आफ्नो शीर र शरीरका बिभिन्न भागमा डा केसीका मागसहितका प्यन्टेङि गरेका थिए । विभिन्न संघसंस्था,चिकित्सक तथा विद्यार्थीको अगुवाईमा निस्किएको र्यालीमा सर्वसाधारण नागरिक उल्लेख्य संख्यामा सहभागी थिए । र्यालीमा सहभागीले झन्डै चार घन्टा प्रदर्शन गरेपछि नयाँवानेश्वरमा भएको कोणसभालाई डा केसीले अनसनस्थलबाटै टेलिफोनमार्फत सम्बोधन गर्नु भएको थियो । डा केसीले ३ करोड नेपाली नागरिकको स्वास्थ्य ठूलो भएका कारण आफ्ना माग पूरा नभएसम्म अनसन जारी राख्ने बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले व्यवस्थापिका संसदलाई समेत तर्साएर समानान्तर सरकार चलाएको उहाँले आरोप लगाउनुभयो । चिकित्सा शिक्षामा सबैको पहुँच पर्याउन आफ्नो अभियानमा युवाहरुले साथ दिएकोमा धन्यवाद दिदै आन्दोलन अझ अगाडि बढाउन आग्रह पनि गर्नुभयो । चिकित्सा क्षेत्र सुधार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त कार्कीलाई महाअभियोग लगाउनुपर्ने मागगर्दै केसी १४ दिनदेखि आमरण अनसनमा बसिरहनु भएको छ ।