पोखरा– पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ।
पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए। उनका अनुसार मङ्गलबार भेटिएको शव पनि परीक्षणका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ। दुर्घटनामा परेका एक जनाको स्थिति अझै अज्ञात छ। यसअघि मङ्गलबार नै ४८ शवलाई काठमाडौंस्थित शिक्षण अस्पताल पुर्याइएको छ।
पहिचान र सनाखत हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव काठमाडौंमा परीक्षण हुनेछ। शव क्षतविक्षत भएका कारण पहिचानका लागि डिएनए परीक्षण गर्नुपर्ने भएकाले आफन्तले शव पाउन अझै केही दिन लाग्ने देखिएको छ।











