पोखरामा आज बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ताको खोजीकार्य राति पनि जारी राखिने भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अजय केसीले खोजीकार्यलाई राति पनि जारी राख्नका लागि  घटनास्थल सेती खोँचमा लाइट जडान गरिसकिएको बताए।

दुर्घटनामा परी मृत्यु भएका ६९ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा परीक्षणका लागि लगिएको छ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोली खोजीमा खटिएका छन्। नेपाली सेनाका मात्रै दुई सय बढी खटिएका छन्। प्रहरी र सशस्त्र प्रहरी पनि सयौँको संख्यामा खटिएका छन्। काठमाडौंबाट सशस्त्र प्रहरीको गोताखोरको टोली पोखरा आएको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले राति पनि बत्ती जडान गरी खोजी गर्न लागिएको जानकारी दिए।