काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मी र नकुन्नी धोबीको घटनाको सत्य तथ्य छानबिन गर्ने प्रतिबद्धता जनाएका छन्।
निर्मला कुर्मी र नकुन्नी धोबीको न्यायका लागि माइतीघर मण्डलामा धर्नामा बसिरहेका अधिकारकर्मीहरूलाई शनिबार भेट्न गएर उनले छानबिन गर्ने प्रतिबद्धता जनाएका हुन्।
यसअघिका सरकारले पटक–पटक प्रतिबद्धता जनाए पनि उक्त घटनाको छानबिन हुन नसकेको भन्दै लामिछानेले न्याय दिलाउने प्रतिबद्धता जनाएका हुन्।
छानबिनका क्रममा कुनै कैफियत देखिए आफूले राजीनामा दिनुपरे पनि दिने गृहमन्त्री लामिछानेले अधिकारकर्मीसामु बताएका छन्।
‘मलाई एक पटक राम्रोसँग काम गर्न दिनुहोला। अघिल्लो अनुसन्धानमा बिग्रिएका विषयहरूलाई सच्याउने मौका दिनुहोला, जे गर्नुपर्छ तपाईँहरूले भन्नुभएको कुरामा हामी क्रमबद्ध रूपमा जाउँला, पीडित महिलाबाट आएको विषयलाई नै आधार र प्रमाण बनाएर अनुसन्धान थाल्छु मलाई समय दिनुहोस्,’ गृहमन्त्री लामिछानेले भने।
धर्नामा बसेकी अधिकारकर्मी रुवी खानले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार र गृहमन्त्री रवि लामिछानेले धोका नदिने विश्वास व्यक्त गरिन्। न्याय नपाएसम्म धर्ना बसिरहने खानको भनाइ छ। कुर्मी र धोबीको न्यायको निम्ति उनीहरूले चरणबद्ध रूपमा आन्दोलन गरिरहेका छन्। माइतीघर मण्डलामा हाल उनीहरूले तेस्रो चरणका रूपमा आन्दोलन गरिरहेका हुन्।











