प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीका रूपमा अब सम्पूर्ण ध्यान मुलुक र जनताको आर्थिक विकासमा दिने बताएका छन् । बुधबार गोरखा उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको ११औँ गोरखा महोत्सव उद्घाटन गर्दै उनले प्रधानमन्त्रीको तेस्रो कार्यकालमा सम्पूर्ण रूपमा आर्थिक विकासमा ध्यान लगाउने बताएका हुन् । उनले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहने पनि बताए ।
प्रतिनिधिसभमा अभूतपूर्व विश्वास आर्जन गरेको भोलिपल्टै प्रचण्ड आफू सांसद निर्वाचित भएको जिल्ला गोरखा पुगेका प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा शतप्रतिशत समर्थन प्राप्त गर्नु निकै ठूलो जिम्मेवारी र चुनौतीपूर्ण रहेको बताए । उनले भने, ‘मलाई झन्डै शतप्रतिशत समर्थन प्राप्त भएको छ, यो निकै ठूलो जिम्मेवारीको हो । र, यो निकै ठूलो चुनौती पनि हो ।’
उनले भने, ‘म मलाई गर्व लागेको छ, गोरखा जिल्लाको जनप्रतिनिधिका रूपमा प्रधानमन्त्री मात्रै भएको छैन, झन्डै राष्ट्रिय सहमतिको प्रधानमन्त्री, सबै प्रमुख राजनीतिक दलहरूको साझा प्रधानमन्त्रीका रूपमा काम गर्ने मलाई एउटा ऐतिहासिक अवसर प्राप्त भएको छ र यसलाई मैले चुनौतीपूर्ण अवसरको रूपमा लिएको छु ।’
गोरखा जिल्लाका जनताप्रति आभार व्यक्त गर्दै उनले अब देशको अर्थतन्त्रमा सुधारका निम्ति लिनुपर्ने नीति र उपायबारे र सार्वजनिक क्षेत्र र निजी क्षेत्र सहकार्यलाई प्रभावकारी बनाउन क्रियाशील हुने बताए ।
चुनावी अभियानका क्रममा गोरखाका ग्रामीण सडक सञ्जाललाई स्तरोन्नति गर्ने, सबै पालिका सडक सञ्जालबाट जोड्ने, बुढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउने, बेनीघाट–लार्के सडक र उत्तरी गोरखाको रोइला नाकासम्म सडक निर्माण गर्ने भनी प्रतिबद्धता जनाएका काममा आफू निरन्तर लागिरहेको उनले पुनः प्रतिबद्धता जनाए । यो खबर नया पत्रिका मा छ











