एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारलाई विश्वासको मत दिए पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । संघ तथा प्रदेशका सांसदको सम्मान कार्यक्रममा नेपालले प्रतिपक्षमा बस्ने र संगठन निर्माणमा केन्द्रित हुने बताएका हुन् ।
नेपालले ०५१ मा प्रमुख प्रतिपक्षी दल कांग्रेसले एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिएको स्मरणसमेत गरे । ‘विश्वासको मत दिएपछि सत्ताधारी दल हुन्छ भन्ने कहाँको व्याख्या हो ? ०५१ मा हाम्रो पार्टीको अल्पमतको सरकारलाई कांग्रेसले विश्वासको मत दिएको स्मरण गर्नुपर्दैन ?’ अनेरास्ववियुले बुधबार पार्टी कार्यालय मीनभवनमा गरेको कार्यक्रममा नेपालले भने । मनमोहन अधिकारी नेतृत्वको तत्कालीन सरकारमा नेपाल उपप्रधानमन्त्री थिए ।
प्रचण्ड नेतृत्वको सरकारलाई भ्रष्टाचार अन्त्य गर्ने, जनताको जीवनस्तर सुधार्ने, संसद् र संविधानको रक्षा गर्ने विश्वासको मत दिएको उनले बताए । उनले भने, ‘नेपालको संविधानमा संसद् विघटन गर्ने अधिकार कहीँकतै उल्लेख छैन, विगतको घटना नदोहोरियोस् भन्ने खबरदारी गर्दै लोकतन्त्रको रक्षाका लागि विश्वासको मत दिएका हौँ,’ नेपालले भने ।
प्रचण्डलाई काम गरेर देखाउने अवसर भएको पनि उनले बताए । नेपालले नेता तथा कार्यकर्तालाई पार्टी संगठन बनाउन गाउँ जान पनि निर्देशन दिएका छन् । एकीकृत समाजवादीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले स्ववियु निर्वाचनमा देखिने गरी अनेरास्ववियुले मिहिनेत गर्नुपर्ने बताए ।











