काठमाडौं, २७ पुस । विशेष अदालतले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा फेरबदल तथा राजस्व चुहावट मुद्दामा यातायात कार्यालय, एकान्तकुनाका सवारीचालक अनुमतिपत्र कार्यालयका तत्कालीन प्रमुख आनन्दकेशरी पोखरेललाई आठ महिना कैद र नौ हजार जरिवानाको फैसला सुनाएको छ ।
लाइसेन्सको ट्रायलमा फेल भएका तथा अनुपस्थित रहेकाहरूलाई पास गराएको, फेल भएको तीन महिना नपुग्दै पुनः ट्रायलमा समावेश गराएको तथा नयाँ लाइसेन्स बाँड्दा सरकारी राजस्व रकम नलिएको अभियोग लगाउँदै अख्तियारले तीन वर्षअघि मुद्दा चलाएको थियो । उनीसहित ३८ आरोपीमध्ये सातजनालाई दोषी ठहर गर्दै अदालतले ३१ जनालाई भने सफाइ दिएको छ ।
विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार राजस्व चुहावट मुद्दामा पोखरेललाई दोषी ठहर गरिएको हो । त्यस्तै, ट्राफिक प्रहरीका डिएसपी नवराज थापा र इन्स्पेक्टर मुरारी मिश्रलाई ६ महिना कैद र आठ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ । अवकाश पाइसकेका इन्जिनियर वासुदेव पोखरेललाई पनि सोही सजाय सुनाइएको हो ।
अर्का अवकाशप्राप्त शाखा अधिकृत राममणि पोखरेलका साथै शाखा अधिकृतहरू शम्भुप्रसाद थपलिया र ईश्वरराज रेग्मीलाई चार–चार महिना कैद र जनही ६ हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ । राजस्व चुहावट गरी राज्यलाई नोक्सान पु¥याएको तथा भ्रष्टाचार गरेको भन्दै सबैविरुद्ध विशेषमा ८ मंसिर ०७६ मा मुद्दा दायर भएको थियो ।
कार्यालय प्रमुख पोखरेलले आठ लाख ५९ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो ।











